काठमाडौं, असोज २२ – प्रतिनिधिसभा र प्रदेश सभा चुनावको लागि दलहरुले उम्मेदवार सिफारिस गर्न थालेका छन् । उम्मेदवारी मनोनयन गर्न अब दुई हप्ता मात्र बाँकी छँदा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका हुन् । मुख्य दलका सबै शीर्ष नेताहरु सिफारिसमा परेका छन् ।
कुन दलका शीर्ष नेता कहाँबाट सिफारिस ?
नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराको एक मात्र निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । देउवाको गृहजिल्ला डडेल्धुरामा दुईवटा गुट बनेर उम्मेदवार सिफारिस भएको थियो । देउवा दुवै गुटबाट सिफारिसमा पर्नुभएको छ । स्थानीय चुनावमा डडेल्धुराका पाँच गाउँपालिका र दुई नगरपालिकामध्ये एक गाउँपालिका र एक नगरपालिका बाहेक अन्य तहमा कांग्रेस विजयी भएको थियो ।
कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँको क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ, तर पौडेल सर्वसम्मत सिफारिस हुन सक्नुभएन । तनहुँका १० वटा स्थानीय तहमध्ये क्षेत्र नम्बर १ मा चारवटा तह छन् । जसमा नेपाली कांग्रेसले तीनवटा तहमा जितेको थियो । तनहुँ २ बाट भने कांग्रसका युवा नेता प्रदिप पौडेल सिफारिस हुनुभएको छ ।
महामन्त्री सशांक कोइराला नवलपरासीको पूर्वी क्षेत्रको कान्छोे जिल्ला नवलपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस हुनुभएको छ । नवलपुरमा २ वटा निर्वाचन क्षेत्र छन् । नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ ।
यस्तै अर्जुननरसिंह केसी र डा. रामशरण महत नुवाकोट १ बाट सिफारिस भएका छन् । कांग्रेसबाट धेरै नाम सिफारिस हुन बाँकी छ ।
नेकपा एमाले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट निर्विरोध सिफारिस हुनुभएको छ । झापामा ५ वटा निर्वाचन क्षेत्र छन् । नेकपा एमालेले ५ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । एमाले अध्यक्ष ओली सिरहाको क्षेत्र नम्बर १ बाट पनि सिफारिस हुनुभएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तीनवटा क्षेत्रबाट सिफारिस हुनुभएको छ । रौतहट १ र २ तथा काठमाडौं क्षेत्र नम्बर २ बाट उहाँ सर्वसम्मत सिफारिस हुनुभएको छ । संवैधानिक बाध्यताका कारण नेपाल एक ठाउँबाट मात्रै चुनाव लड्नु हुनेछ ।
नेताहरु झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ इलामको क्षेत्र नम्बर १ र २ बाट सिफारिस हुनुभएको छ । उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनावको लागि सिफारिस हुनुभएको छ । महासचिव ईश्वर पोखरेल यो पटक पनि काठमाडौँ ५ बाट प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
एमाले उपाध्यक्ष भीम रावल अछाम १ बाट सर्वसम्मत सिफारिस हुनुभएको छ । शङ्कर पोखरेल दाङ २, विष्णु पौडेल रुपन्देही २, प्रदीप ज्ञवाली गुल्मी २, गोकर्ण विष्ट गुल्मी १ बाट उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।
अष्टलक्ष्मी शाक्य काठमाडौं ९, घनश्याम भुषाल रुपन्देही १, योगेश भट्टराई ताप्लेजुङ, सुरेन्द्र पाण्डे चितवन २, भानुभक्त ढकाल मोरङ ३, कृष्णगोपाल श्रेष्ठ काठमाडौँ ८, सत्यनारायण मण्डल सप्तरी १, रघुवीर महासेठ धनुषा ३, कोमल ओली दाङ ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस हुनुभएको छ ।
एमाले नेता दलबहादुर राना पाल्पा क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको छ । नेता सोमप्रसाद पाण्डे तथा ठाकुर गैरे पाल्पा २ बाट सिफारिस हुनुभएको छ । राजपा नेता हृदयश त्रिपाठीले राजपा छाडेर सूर्य चिन्हबाट चुनाव लड्ने भनेपछि पछिल्लो समय राजनीतिमा यसले निकै चर्चा पायो । त्रिपाठी नवलपरासी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने हुनुभएको छ । उहाँका लागि एमालेले यहाँ ठाउँ खाली गरेको छ ।
माओवादी केन्द्र
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र ३ बाट चुनाव लडने भनेर घोषणा गर्नुभएको छ । नेता रामबहादुर थापा बादल पनि चितवन क्षेत्र नम्बर २ बाट सिफारिस हुनुभएको छ । चितवनमा तीनवटा स्थानीय तह रहेका छन् ।
नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्त्रर २ बाट प्रतिष्पर्धा गर्ने हुनुभएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । माओवादी नेता वर्षमान पुन रोल्पाबाट निर्विरोध सिफारिस हुनुभएको छ । रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्मा कान्छो जिल्ला रुकुम पूर्वबाट चुनाव लड्ने हुनुभएको छ । नेता देव गुरुङ पोखरा क्षेत्र नम्बर १ बाट सिफारिस हुनुभएको छ ।
नयाँ शक्ति
नयाँ शक्ति नेपालका संयोजक डा. बावुराम भट्टराईले गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने यसअघि घोषणा गरिसक्नुभएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको बिचमा चुनावी तालमेल तथा पार्टी एकीकरणको घोषणा भएपछि उहाँले सूर्य चिन्ह लिएर चुनाव लड्ने बताउनुभएको छ ।
राष्ट्रिय जनता पार्टी
अबको चुनावबाट तराईको ठूलो शक्तिको रुपमा उदय हुने लक्ष्यका साथ ५ वटा मधेश केन्द्रित दल मिलेर बनेको बनेको राजपामा पछिल्लो समय नेताहरुले पार्टी छोड्ने समस्याले सताएको छ । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो तथा राजपा नेता महेन्द्रराय यादवमध्ये एकजना सर्लाही क्षेत्र नम्बर २ बाट चुनावमा भिडने छन् ।
अघिल्लो चुनावमा यी दुई नेता फरक पार्टीबाट सर्लाहीको एउटै क्षेत्रबाट चुनाव लडेका थिए । जहाँ राजेन्द्र महतो पराजित भएका थिए । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर ३ बाट चुनाव लडने सम्भावना छ । राजपाका नेता गजेन्द्रकुमार मण्डल सप्तरी क्षेत्र नम्बर २ बाट सिफारिस हुनुभएको छ । सप्तरीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
संघीय समाजवादी फोरम
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव यसअघि सुनसरी ५ बाट निर्वाचित हुनुभएको थियो । तर अहिले सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र कायम छन । यादव सुनसरीको क्षेत्र नम्बर ४ बाट सिफारिस हुनुभएको छ । तर यादवले मोरङबाट पनि चुनाव लडन सक्ने देखिएको छ ।
राजपा र संघीय समाजवादी फोरमबिच चुनावी तालमेल हुने भएकाले नेताहरुको चुनावी क्षेत्र केही दिनपछि मात्र तय हुनेछ ।
लोकतान्त्रिक फोरम
लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै हुनुहुन्छ । असोज पहिलो हप्ता भएको स्थानीय चुनावले गर्दा मधेश केन्द्रित दलले सबै ठाउँको उम्मेदवार सिफारिस गरेका छैनन् ।
मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा दलहरु गठबन्धन बनाएर चुनाव लड्ने भएका कारण पनि दलहरु उम्मेदवार छान्न हतार नगरेको देखिन्छ ।
No comments:
Post a Comment