युएईमा अस्पताल पुगेर पनि उपचार पाएनन् जीवनले, रेखदेख गर्न नेपालबाट भाइ आउँदै



पुस १७ - फराकिलो बाटो । सय किलोमिटर प्रतीघण्टा दौडिने सवारी साधन । त्यही दौडिरहेको गाडीले अचानक ठक्कर दियो भने के होला !

ज्यानै गए त दुःख लुकायो भन्न सकिएला । तर त्यसो भएन भने । अनि उपचार पनि नपाउने अवस्था आयो भने !

कल्पना गरिनसक्नु हुन्छ ।

यी सबै भोगाई झापाका जीवन रानाका हुन् ।



नौ वर्ष पहिले रोजगारीका लागि युएई आएका झापाको सुरुङ्गा ३ का जीवन राना गएको हप्ता अचानक दुर्घटनामा परेपछि यस्तो भोग्न बाध्य हुनुहुन्छ । त्यही दुर्घटनाले जीवनलाई मरनको अवस्थामा सारजाहमा रहेको कुवेती अस्पतालको अर्थोपेडी वार्डमा पुर्‍यायो । ढाडको हड्डी भाँचिएको, हात खुट्टा सग्ला रहेनन् ।

जीवन रसअलखेमामा रहेको रोटाना सेक्युरिटी कम्पनी मार्फत सारजाहको अन्सार मल नजिकैको अग्लो टावरमा चौकिदारी गर्नुहुन्थ्यो ।

अस्पतालमा ढलिरहेका जीवनलाई चोटको पीडा कति होला ! अनुमान गर्न गाह्रो छैन । तर त्यो भन्दा धेरै पीडा अभावको छ । उपचारका लागि चाहिने खर्च कसरी जुटाउने भन्ने छ । उपाय छैन । छ त केवल सहयोगको आश मात्रै बाँकी छ ।

अस्पतालले उपचारमा माटो रकम चाहिने जानकारी गराइसकेको छ । सात देखी दश लाख रुपैयाँ लाग्ने बताएको एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

कम्पनीले कुनै वास्ता गरेको छैन । अस्पताल पुगेको एक हप्ता बित्दा पनि खर्च जुटाउन नसक्दा उपचार सुरु हुन सकेको छैन ।

यो खबर परिवारले थाहा पाइसकेको छ । परदेशमा दाइको यो अवस्था सुनेपछि भाइ सरोज युएई आउने तयारीमा छन् । एनआरएन युएईको सहयोगमा भिजिट भिसामा आएर दाइको रेखदेख गर्न आउन लागेका हुन् ।

जीवनलाई भेट्न साथीभाइ र यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी पुगेका छन् । उहाँलाई भेटेपछि सहयोग गर्ने बताएका छन् ।परिवार उपचार खर्च जुटाउन सक्ने अवस्थामा छैनन् । ३२ वर्षीय जीवनको घरमा श्रीमती सँगै १६ महिने छोरी छन् ।

जीवनको बाँकी जीवनको आशा नै तिनै सहयोगीहरु छन् ।

No comments:

Post a Comment